नेपालगन्ज : बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यताको विवाद पुनः बल्झिएको छ । नेपाली कांग्रेस बाँकेको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा असन्तुष्ट पक्षले बुधबार बेलुकी तालाबन्दी गरेको हो । निर्वाचन समितिका पदाधिकारीका अनुसार तालबन्दी गर्न पार्टीका जिम्मेवार नेता नै उपस्थित भएका थिए ।
वडा तहको निर्वाचन सम्बन्धी काम गरिरहेको अवस्थामा निर्वाचन समितिका पदाधिकारीलाई बाहिर निकालेर कांग्रेस नेता, कार्यकर्ताले तालाबन्दी गरेका हुन् । क्रियाशिल सदस्यता विवादका कारण यसअघि बाँकेको अधिवेशन रोकिएको थियो । क्रियाशिल सदस्यताता नविकरणका नाममा फर्जी सदस्यता थपिएको असन्तुष्ट पक्षको आरोप छ । तर, जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा थप भएका भनिएका ती नामहरु आधिकारिक रुपमा नआएको पाइएको छ ।
निर्वाचन अधिकृत रेवती रमण भट्टराईले नयाँ थप भएका भनिएका २ सय ३९ जनाको नामबारे आफुलाई जानकारी नभएको बताएका छन् । ‘उहाँहरुले पहिल्यै भविष्यवाणी गरेर ताला लगाउनु भएको रहेछ, तर खै अहिलेसम्म हामीलाई जानकारी आएको छैन,’ उनले भने ।
छुट नामावली भनि २ सय ३९ जनाको नाम प्रस्ताव गरेको भनि केन्द्रिय निर्वाचन समिति बाट सूचना प्राप्त भएकाले ताला लगाउनु परेको असन्तुष्ट पक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । क्रियाशिल सदस्य संख्या थपेको पाइएपछि तालाबन्दी गर्नु परेको असन्तुष्ट पक्षका नेता पूर्णप्रसाद आचार्यले बताए ।
बाँके, क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री र जिल्ला उपसभापति फुलाराम थारुमाथी उक्त विज्ञप्तीमा आरोप लगाइएको छ । तर, यस विषयमा प्रतिक्रिया दिदै जिल्ला उपसभापति थारुले २ सय ३९ जनाको सदस्यताबारे जानकारी नभएको बताएका छन् । तत्कालिन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकिकरण भएपछि बरु फोरम लोकतान्त्रिकबाट आएका थुप्रैलाई क्रियाशिल सदस्यबाट बञ्चित गरिएको उनले सुनाए ।
‘नरैनापुर गाउँपालिकामा ६३ जना तत्कालिन फोरम लोकतान्त्रिकको तर्फबाट आएका साथीहरुको नाम छुटाइयो, खजुरा गाउँपालिकामा पनि महासमिति सदस्य हिरालाल लोनियासहित ३२ जनाको नाम काट्ने काम उहाँहरु आफैले गर्नु भयो, अरु थुप्रै ठाउँमा सदस्यता काट्ने काम उहाँहरुले गर्नु भएको छ,’ थारुले भने ‘अहिले नाम नआउँदै उहाँहरुहरुले ताला लगाउनु भएको छ, यो कस्तो संस्कार हो ? पुरै जिल्लाभरी निर्वाचनको माहोल तात्तिरहेका बेला हार्ने मानसिकताले आम कार्यकर्तालाई निराश पार्ने काम गर्नु भएको छ ।’
‘तत्कालिन समायोजन समितिले पास गरेको लिष्टबाट समेत धेरै साथीहरुको नाम हटाउने काम गरेर अन्याय गरिएको छ, यदी न्याय/अन्याय छुट्याउने हो भने ती मतदातालाई बञ्चित गराइनु हुदैन,’ उनले भने । चुनावी माहोल तात्तिएका बेला एक्कासी निर्वाचन कार्यालयमा तालाबन्दी भएपछि जिल्लाका आम कार्यकर्ता निराश बनेका छन् ।
निर्वाचन बिथोल्ने नियतले तालाबन्दी गरेको असन्तुष्ट पक्षमाथी गम्भिर आरोप लागेको छ । निर्वाचन कार्यालयमा तालाबन्दी गर्न पार्टीका जिम्मेवार नेता नै संलग्न रहनुले बाँके कांग्रेसभित्र गलत संस्कार र प्रवृत्ती स्थापित हुने खतरा देखिएको निर्वाचन समितिका एक सदस्यले सुनाए ।