नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा निर्वाचन प्रक्रिया अगाडी बढिहेका बेला जिल्ला निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरिएपछि निर्वाचन कार्यक्रम प्रभावित भएको छ । यही कात्तिक २७ गते सम्पन्न हुने वडा तहको निर्वाचनको सम्पुर्ण तयारीको प्रक्रियामा रहेका वखत जिल्ला निर्वाचन समितिको सचिवालय कक्षमा एक्कासी तालाबन्दी भएपछि निर्वाचन कार्यक्रम प्रभावित भएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाँके जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा बुधबार राती अबेर सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले कांग्रेसको वडा तहको निर्वाचन, निर्वाचन तालिका बमोजिम कात्तिक २७ गते सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतहरुको अभिमुखिकरण कार्यक्रम स्थगित गरेको छ । उक्त कार्यक्रम कात्तिक २५ गते बिहीबार गर्ने तय गरिएको थियो ।
तालाबन्दीबाट निर्वाचन कार्यक्रम प्रभावित भएकाले उक्त समस्यालाई यथाशिघ्र समाधान गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँके, बाँके जिल्ला अन्तर्गत तीन वटै क्षेत्रीय सभापति एवम् समिति, नेपाली कांग्रेस पार्टी जिल्ला बाँकेस्थित जिम्मेवार तहमा बस्ने (पदासिन) नेतृत्वलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै सचिवालयमा लगाइएको तालाबन्दीका विषय समाधान गर्न नेपाली कांग्रेस पार्टी जिल्ला कार्यसमिति, क्षेत्रीय सभापतिहरु एवं जिम्मेवार नेतृत्वहरुसँग कात्तिक २५ गते(बिहीबार) छलफल गर्नका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी निर्वाचन समितिको सचिवालयमा तालाबन्दी भएको अवस्थामा यससँग सम्बन्धित वस्तुस्थिती एवं समस्या समाधानका लागि भएका पहल कदमीका विषयमा केन्द्रिय निर्वाचन समितिमा जानकारी गराउने निर्णय पारित गरिएको जिल्ला निर्वाचन परिचालन समितिद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यो पनि पढ्नुस् :
पार्टीका जिम्मेवार नेतृत्वबाटै कांग्रेस निर्वाचन कार्यालयमा तालाबन्दी