नेपालगन्ज : धारा सातौं नेपालगन्ज म्याराथनमा ७ हजारलाई सहभागी गराउने तयारी गरिएको छ । आगामी मंसिर ४ गते नेपालगन्जको वीपीचोकबाट सुरु हुने म्याराथनमा सात हजारलाई सहभागी गराउने तयारी भइरहेको आयोजक क्रियटिभ ह्याण्डस्ले जनाएको छ । म्याराथनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्नेछन् ।
कार्यक्रममा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहलगायतको उपस्थिती रहने भएको छ । म्याराथनका लागि आयोजकले टिसर्ट सार्वजनिक गरिसकेको छ । नेपालगन्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरेको थियो ।
आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीका अनुसार टिसर्ट सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिव भीम ओली, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, राखेपका सदस्य सुमित्रा चौधरी, जिल्ला खेलकुद विकास समिति, बाँकेका अध्यक्ष मोहित शाह, उपाध्यक्ष कृष्णा पाठक, शहरका प्रतिष्ठित व्यक्तित्वहरु सञ्जय थापा, डा. अभिनिन्द्र मिश्र, शशी स्वाँर, विकास बज्राचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, तेजविक्रम शाह, सूर्यमणि अधिकारी, हेमन्त काफ्ले, म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथोमा नेपाल प्रहरीका भूमिराज राई, पाँचौमा नेपाली सेनाका नवराज साउद र छैठौमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की विजयी भएका थिए ।