नेपालगन्ज : नेपाली कांग्रेसको नेपालगन्ज उपमहानगर सभापति पदका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । पालिका स्तरको निर्वाचनको पुर्वसन्ध्यामा सभापति पदमा उमा थापामगर, प्रशान्त विष्ट र बिनोद रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिका अनुसार यही मंसिर १ गते पालिका तहको उम्मेदवारी मनोनयन र मंसिर २ गते ८ वटै पालिकामा मतदान हुदैछ ।
कांग्रेस कार्यकर्ताको नजरमा नेपालगन्ज उपमहानगरका लागि यि तीनै जना ब्यक्ति योग्य र बलियो मानिन्छन् । तीनै जना पार्टीका युवा नेता हुन् । उनीहरु नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको मुल राजनीतिमा आएका हुन् । नेतृ थापा नेपालगन्ज उपमहानगरपालिकाको उप-प्रमुख पनि हुन् । विष्ट वर्तमान नगर सभापति हुन् । यस्तै युवा नेता रिजाल नेपाल तरुण दल बाँकेको वर्तमान जिल्ला सचिव हुन ।
पार्टीको भातृ संगठनमा रहेर लामो समय काम गरिसकेका उनले यसपटक उपमहानगर सभापतिमा उम्मेदवारी दिन लागेका हुन् । उपमहानगरमा पार्टीको संगठन बलियो बनाउनका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको नेता रिजालले बताए । ‘जबसम्म संगठन मजबुद हुदैन, तबसम्म पार्टी बलियो हुदैन,’ उनले भने ‘मेरो उम्मेदवारी पार्टी संगठन बनाउनका लागि नै हो ।’ स्वर्गिय सुशिल कोइरालाको गृहनगर नेपालगन्जमा पार्टीको प्रतिष्ठा स्थापित गर्न आफु नेतृत्वमा आउन खोजेको रिजालले सुनाए ।
यस्तै नेतृ थापाले संगठन निर्माण नै आफ्नो प्रमुख एजेण्डा रहेको बताईन् । ‘संगठन निर्माण नै मेरो प्रमुख एजेण्डा हो, आउँदै गरेको स्थानीय, प्रदेश र संघिय निर्वाचनमा पार्टीलाई जिताउनका लागि मेरो उम्मेदवारी हुन लागेको हो,’ उनले भनिन् ‘कार्यकारी पदमा महिलाको उम्मेदवारी अहिलेसम्म छैन, महिलाले पनि नेतृत्वमा आउन सक्षम छन भन्नका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’ नेतृत्व हस्तान्तरण पनि आफ्नो चुनावी एजेण्डा रहेको नेतृ थापाले बताईन् ।
वर्तमान सभापति विष्टले आफुले पार्टीलाई झन् बलियो बनाउन पुनः सभापति पदमा उम्मेदवारी दिन लागेको बताए । ‘आउने स्थानीय निर्वाचनमा नेपालगन्जका २३ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने मेरो पहिलो एजेण्डा हो, यसअघिको अनुभवलाई अब कार्यान्वयनमा लैजानेछु,’ उनले भने ‘साथीहरुको आवश्यकता र सुझाव अनुसार म फेरी एक पटक दोहोरिन लागेको हुँ ।’ तीनै जना उम्मेदवार यतिबेला चुनावी प्रचार प्रसारमा जुटेका छन् । उनीहरु क्षेत्रीय प्रतिनिधीका घर घरमा पुगेर भोट मागिरहेका छन् ।
यो पनि पढ्नुस् :
नेपालगन्ज उपमहानगर सभापतिमा कस्ले बाजी मार्ला ?