नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ वटै स्थानीय तह (गाउँपालिका/नगरपालिका) बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह-सचिव पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।
उनका अनुसार सदस्य पदमा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिसहित पदाधिकारी पदमा निर्वाचन भएपनि सदस्यमा सर्वसम्मत हुने उनले बताए । नेपालगन्जस्थित जिल्ला समन्वय समितिको सभा हलमा बिहीबार(भोली) बिहान ९ः३० बजेदेखी ३ बजेसम्म मतदान सम्पन्न हुनेछ ।
यस्तै कोहलपुर नगर सभापति पदमा २ जना, उप–सभापतिमा ४ जना, सचिवमा ४ र सह–सचिव पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । बाँकी सबै सदस्य पदमा पनि उम्मेदवारी परेको मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । मतदान बिहीबार बिहान निर्धारित समयमै सुरु हुने उनले बताए ।
राप्ती सोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । खुल्ला सदस्य १८(पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको उनले बताए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बिहीबार(भोली)का लागि मतदानको तयारी गरिएको मतदान अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।
बैजनाथ गाउँपालिकामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापतिमा ४, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए । डुडुवा गाउँपालिकामा सभापतिसहित सबै पदमा एक/एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ताका क्रममा केही प्राविधिक त्रुटी भएका कारण कार्यसमिति पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको मतदान अधिकृत हरिप्रसाद सुवेदीले जानकारी दिए । डुडुवामा निर्विरोध जस्तै भएको र केही प्राविधिक कुरा मिलाएर बिहीबार(भोली) घोषणा हुने उनले बताए । डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित सबै पदमा एक/एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
नरैनापुर गाउँपालिकामा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत गोपाल गिरीका अनुसार नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह-सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको गिरीले जानकारी दिए ।
खजुरा गाउँपालिकामा पनि सभापति सहित कार्यसमिति पदाधिकारी निर्विरोध भएको छ । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सह-सचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत महारुप जैसीले जानकारी दिए । उक्त गाउँपालिकाको ४४ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित भएको उनले बताए । खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधी(अपांग)मा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।
जानकी गाउँपालिकामा उपसभापति पद बाहेक अन्य सबैमा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापति पदमा दयाराम यादव(अहिर), सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका छन् । उक्त पालिकामा १८ जना खुल्ला सदस्य र समावेशीबाट ८ जना सदस्य पनि निर्वाचित भएको मतदान अधिकृत गुप्ताले बताएको जिल्ला निर्वाचन परिचालन समितिद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।