नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ वटै स्थानीय तहमा बुधबार उम्मेदवारी मनोनयन दर्ता भयो । जिल्लाका ८ वटा पालिका मध्ये ४ वटामा निर्विरोध कार्यसमिति पदाधिकारी चयन भइसकेका छन् । निर्विरोध भएका चारै जना पालिका सभापति पुरुष हुन् ।
नेपालगन्ज, कोहलपुर, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा निर्विरोध हुन नसकेपछि बिहीबार मतदान हुदैछ । यि मध्ये नेपालगन्ज उपमहानगरमा सबैको ध्यान केन्द्रित भएको छ । नेपालगन्ज उपमहानगर सभापति पदमा उमा थापामगर, बिनोद रिजाल र प्रशान्त विष्टले उम्मेदवारी दिएका छन् ।
जिल्लाको ८ वटै स्थानीय तह मध्ये पालिका सभापतिमा उम्मेदवारी दर्ता गराउने थापा एक मात्र महिला उम्मेदवार हुन् । नेपालगन्ज उपमहानगरपालिकाको उप-प्रमुख समेत रहेकी थापाले सभापति पदमा बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् । संगठन निर्माण नै आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताइन् ।
‘संगठन निर्माण नै मेरो प्रमुख एजेण्डा हो, आउँदै गरेको स्थानीय, प्रदेश र संघिय निर्वाचनमा पार्टीलाई जिताउनका लागि मेरो उम्मेदवारी हो,’ उनले भनिन् ‘कार्यकारी पदमा महिलाको उम्मेदवारी अहिलेसम्म छैन, महिला पनि नेतृत्वमा आउन सक्षम छन भन्नका लागि मैले उम्मेदवारी दिएकी हुँ ।’
जिल्लाकै एक मात्र महिला पालिका उम्मेदवार भएकाले आफुले सबैबाट साथ र सहयोग पाउने विश्वासमा रहेको बताइन् । कार्यकर्तालाई दुःख र अप्ठ्यारो पर्दा साथ दिने थापा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को क्रियाशिल सदस्य हुन् । बिद्यालयमा अध्ययन गर्ने क्रममा उनले वि.सं. २०५० सालबाट नेविसंघको राजनीति सुरु गरेकी थिइन् । उनी स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष भएकी थिइन् । थापा नेपाल बिद्यार्थी संघ र नेपाल प्रेस युनियनको पुर्व केन्द्रिय सदस्य पनि हुन् ।