कोहलपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ ।
नगर सभापतिका उम्मेदवार विरेन्द्र शाहले पैसा दिएको विषयमा मतदान सकिएपछि विवाद बढ्दा कुटाकुटमा परिणत भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार मतदान कार्य अन्तिम चरणमा पुगेका बेला शाहले एक जना कार्यकर्तालाई मतदान स्थलमै गोजीबाट एक हजार रुपैयाँ निकालेर दिएका थिए ।
‘मतदान सकिएर पनि मत पेटिका राखिसकेपछि पैसा दिएको कुरा निस्क्यो, पैसा दिएर मतदाता किनेको भन्दै राजेन्द्र पक्षका युवाले विरेन्द्रमाथी प्रश्न तेर्साए, राजेन्द्रले चाही अब भैहाल्यो, विवाद नगरौं भनेर माहोल शान्त पार्ने प्रयास गरिरहेका थिए,’ प्रत्यक्षदर्शीले भने ‘विरेन्द्रले चाही उम्मेदवारी सदर नभएपछि आफ्नो मान्छेलाई पैसा फिर्ता दिएको बताइरहेका थिए, त्यसै क्रममा शाह र तरुण दलका हरिसिंह कठायतबीच भनाभन भयो, विरेन्द्रले लाठी उठाएर हरिसिंहलाई हिर्काए, हरिसिंहले पनि शाहलाई एक मुक्का दिए ।’
उक्त घटनापछि युवा नेता पूर्णप्रसाद आचार्यले शाहमाथी हातपात भएको भन्दै सामाजिक सञ्जालमा राती नै सार्वजनिक गरेका थिए । आचार्यले फेसबुकमा राजेन्द्र श्रेष्ठले नै हातपात गरेको आरोप लगाएका छन् । उनले विरेन्द्रमाथी हातपात गरेर केही नेताहरु फरार भएको बताए ।
तर, श्रेष्ठले उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन् । ‘बिरेन्द्र जीलाई मैले नै बचाएको हुँ, त्यहाँका सबै प्रत्यक्षदर्शीले मेरो भुमिकालाई हेरेका छन्,’ श्रेष्ठले भने ‘लेख्न पाए भन्दैमा जे पायो त्यो लेखेर कसैको चरित्र हत्या गर्ने छुट कसैलाई छैन, प्रत्यक्षदर्शीले नै सबै कुरा देखेका छन् ।’ आफुले बिरेन्द्रलाई त्यहाँबाट जोगाएर सबैको सल्लाह अनुसार घर फर्केको श्रेष्ठले सुनाए ।
‘बिरेन्द्र जीले सुरुमै लाठ्ठी नहान्नुपथ्र्यो, नेतामा संयमता हुनुपर्छ, उहाँले एक्कासी लाठीले नहान्नुपथ्र्यो, पैसाको विवाद ठुलो थिएन, मैले सबैलाई सम्झाएकै थिए, माहोल शान्त नै भइरहेको थियो, लाठी प्रहारपछि घटनाले अर्को रुप लियो,’ श्रेष्ठले भने । आफुले अहिलेसम्म कसैलाई हातपात नगरेको र कुनैपनि विवादमा सामेल नभएको भन्दै आफ्नो आचरणलाई कोहलपुरका कांग्रेसीले देखिरहेको बताए ।
घटनाको विषयमा प्रतिक्रिया लिन विरेन्द्रलाई तीन पटक फोन गर्दा उनले उठाएनन् । नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले सुरुमा आफैले लाठी हानेर विरेन्द्रले राजेन्द्रमाथी गलत प्रचार गराएको बताए । ‘नेता जस्तो मान्छे आफै कुटपिटमा सामेल हुने अनि आफुमाथी हातपात भयो भनेर कु–प्रचार गर्ने काम भयो, सबै कार्यकर्ताले बुझ्न जरुरी छ,’ उनले भने ।