नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर (कोइराला/पौडेल) पक्षले जितेको छ । बाँकेका कुल ८ वटा पालिका मध्ये संस्थापन पक्षले नेपालगन्ज उपमहानगरपालिका तथा राप्ती सोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जितेको हो ।
संस्थापन इतर पक्षले कोहलपुर, नरैनापुर र डुडुवा गाउँपालिकामा मात्र नेतृत्व लिन सफल भएको छ । नेपालगन्ज उपमहानगरमा सभापति सहित संस्थापन पक्षको पुरै प्यानल निर्वाचित भयो । सभापतिमा प्रशान्त विष्टसहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भएका हुन् । विष्टले २ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला÷पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरे ।
कोहलपुर नगर सभापतिमा संस्थापन इतर पक्षका विरेन्द्रकुमार शाहसहित पदाधिकारीमा सबै संस्थापन इतरकै निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राजेन्द्रकुमार श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन् । शाहले १ सय ६० र श्रेष्ठले १ सय ४४ मत पाए ।
राप्ती सोनारी गाउँपालिकामा संस्थापन(देउवा) पक्षका भिमबहादुर रानाक्षेत्रीहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भए । राना क्षेत्रीले १ सय मत ल्याउँदा निकटतम प्रतिस्पर्धी संस्थापन इतरका तुलाराम खत्रीले ६९ मत प्राप्त गरे । बैजनाथ गाउँपालिकामा पनि मतदान प्रक्रियाबाट संस्थापन पक्षकै देवबहादुर केसी(खत्री) निर्वाचित भएका छन् । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजालीसहित संस्थापन पक्षले नै वर्चश्व जमाएको छ । जानकी गाउँपालिका सभापतिमा दयाराम यादव(अहिर)सहित अधिकांस पदमा संस्थापन पक्षका निर्वाचित भएका छन् ।
डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित अधिकांस पदमा संस्थापन इतर पक्ष निर्विरोध निर्वाचित भएको छ । नरैनापुर गाउँपालिका सभापतिमा संस्थापन इतरका मेराज अहमद खाँ र पदाधिकारीको केही पदमा संस्थापन पक्षका निर्विरोध भएका छन् ।
कांग्रेसको पालिका तहको निर्वाचनमा नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकामा निर्विरोध चयन गरिएको होे, भने नेपालगन्ज, कोहलपुर, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा मतदान प्रक्रियामार्फत कार्यसमिति पदाधिकारी निर्वाचित गरिएको हो ।