नेपालगन्ज : किनमेल गर्नका लागि नेपाली नागरिक जाने ठाउँ हो, रुपैडिहा बजार । जो, नेपालगन्जबाट करिव ५÷६ किलोमिटरको दुरीमा पर्छ । बाँकका मात्र नभएर दाङ, सुर्खेत, सल्यान लगायत आसपासका जिल्लाका नेपाली पनि दिनहुँ ठुलो संख्यामा पुग्छन् । त्यसकारण रुपैडिहाको ब्यवसायलाई नेपाली ग्राहकले नै धानेका छन् ।
कोरोना भाईरस (कोभिड–१९)महामारी आउनुभन्दा अगाडीसम्म नेपाली ग्राहकबाट रुपैडिहामा दैनिक करोडौंको कारोबार हुन्थ्यो । महामारी फैलिएयता नेपाली नागरिकको आवत–जावत केही कम छ । तरपनि त्यहाँ किनमेलका लागि जाने क्रम रोकिएको छैन । रुपैडिहाको आर्थिक अवस्था बलियो बनाउनमा नेपाली नागरिकले गरेको योगदानको मुल्यांकन छैन ।
बरु, किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ । प्रत्यक्षदर्शीका अनुसार प्रायःजसो दिन भारतीय सुरक्षाकर्मीले कुनै न कुनै नेपाली नागरिकलाई कुटपिट, अभद्र ब्यवहार, रकम असुली जस्ता ज्यादती गरिरहेका हुन्छन् ।
भारतीय सुरक्षाकर्मीबाट पीडित भएका नेपाली नागरिकहरु न्यायका लागि जाने ठाउँ छैन । ‘कुनै कामका लागि भारत जाने नेपालीलाई त्यहाँका सुरक्षाकर्मीले गर्ने ब्यवहार कत्तिपनि राम्रो छैन,’ नेपाल–भारत सिमानाका जमुनाहाका एक ब्यवसायीले भने ‘किनमेलका लागि भारत गएको होस, या अन्य कामका लागि आवत–जावत गर्दा नेपालीले विभिन्न बहानामा कुटाई खाएकै हुन्छन् ।’
नेपाली नागरिकहरु प्रायः भारतीय सिमा सुरक्षा बल एसएसबीबाट बढी पीडित भइरहेको उनले सुनाए । नेपाल–भारत सिमानाका जमुनाहादेखी रुपैडिहा हुदै नेपाली मजदुर रोजगारीका लागि भारतका विभिन्न शहरमा जान्छन्, भने भारतका विभिन्न ठाउँबाट रोजगारी गरेर रुपैडिहा हुदै नेपालगन्ज प्रवेश गर्छन् । त्यसरी आवत–जावत गर्ने नेपाली मजदुरहरु पनि भारतीय सुरक्षाकर्मी (एसएसबी) को निसानामा पर्ने गर्छन् ।
चेकजाँचका नाममा नेपाली मजदुरसँग जवरजस्ती रकम असुल्ने, कुटपिट तथा दुर्ब्यवहार गर्ने गरेको पीडित मजदुरले पटक–पटक गुनासो गर्दै आएका छन् । पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन । भारतीय सिमा सुरक्षा बल(एसएसबी) सामु नेपाली सुरक्षाकर्मी निरिह हुन्छन् ।
नेपालीमाथी गरेको ज्यादतीबारे उनीहरु भारतीय सुरक्षाकर्मीसँग प्रश्न गर्ने आँट समेत गर्दैनन् । भारतीय सुरक्षाकर्मीको ज्यादती खेपेका नेपालीका पीडा र गुनासा नेपाली सुरक्षाकर्मी समक्ष आईरहन्छन् ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) पुर्ण केसी नेपाली नागरिकले भारतीय सिमा सुरक्षा बल(एसएसबी)बाट पीडित भएको गुनासो गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘चेकजाँचका नाममा बिना कारण कुटियो, दुर्ब्यवहार गरियो भनेर नेपालीले पीडा सुनाउँछन् ।’
आफुहरुले भारतीय नागरिकलाई स–सम्मानका साथ आवत–जावत गर्न दिइरहेको तर भारतमा त्यहाँका सुरक्षाकर्मीबाट नेपालीलाई दुर्ब्यवहार गरेको गुनासो आउने गरेको प्रहरी नायव निरीक्षक केसी बताउँछन् ।