नेपालगन्ज : मुगुको बस दुर्घटनामा परी मृत्यु भएका मृतक ३२ जना मध्ये अहिलेसम्म २३ जनाको मात्र सनाखत भएको छ । जिल्ला अस्पताल मुगुमा अहिले सनाखत गर्ने काम भइरहेको अस्पतालमा खटिएका स्थानीय अगुवा तिलक मल्लले जानकारी दिए । ‘दुर्घटनामा मृत्यु भएका २३ जनाको सनाखत भइसकेको छ, अझैपनि सनाखत गर्ने काम अहिले चलिरहेको छ, अधिकांस मृतक छायाँनाथ रारा नगरपालिकाकै रहेका छन्,’ मल्लले दूरसञ्चचार डटकमसँग टेलिफोनमा भने ।
उनका अनुसार मृतकको सनाखतका लागि ठुलो संख्यामा अहिले स्थानीय बासिन्दा अस्पतालमा भेला भएका छन् । मल्लका अनुसार छायानाथ रारा निवासी अन्दाजी ३८ बर्षका प्यारीलाल कामीको सनाखत भएको छ । उनकी श्रीमतीको पहिचान भएपनि नाम खुल्न सकेको छैन । यस्तै सोही ठाउँकी २८ वर्षीया अमृता शाही, उनको ७ वर्षका बच्चासहित २३ जनाको अहिलेसम्म सनाखत भएको मल्लले बताए । मुगुमा रहेका अन्य ५ जना मृतकको सनाखत हुन नसकेको उनले जानकारी दिए ।
नेपालगन्जमा रहेका चार जना मृतकको पनि सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ‘मृतकका आफन्त आएर आफ्नो मान्छेलाई चिन्ने र प्रहरीले सनाखत गर्ने काम अहिले चलिरहेको छ,’ उनले भने ‘अचम्मको कुरा त के छ भने यति ठुलो दुर्घटनामा पनि एक जना बच्ची बाँच्न सफल भएकी छन्, उनलाई टाउको र हातमा सामान्य चोट छ ।’ दुर्घटनामा बाँच्न सफल ७ वर्षीया भुमिका खड्का हुन् ।
दसैँको मुखमा मुगु शोकमग्न
दसैँको मुखमा बस दुर्घटनामा परी एकैपटक ३२ जनाको मृत्यु भएपछि मुगु जिल्ला पुरै शोकमा डुबेको छ । आफन्तहरुबीच रुवाबासी मच्चिएको छ । ‘मुगु जिल्ला पुरै शोकमा डुबेको छ, दसैँको मुखमा भएको यो कहालीलाग्दो घटनाले सबैको मन रोइरहेको छ, भित्रबाट भक्कानो छुटेर आउँछ, हामीलाई मन सम्हाल्नै गाह्रो भइरहेको छ,’ मल्लले भने ।
उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुष्टी गरिसकेको छ । सुर्खेतबाट मुगु जादै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाटपाने खोलामा दुर्घटनामा परेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी गणेशबहादुर ऐरका अनुसार २४ जनाको घटनास्थलमा, चार जनालाई उपचारका लागि घटनास्थलबाट विमानस्थल पुर्याउँदै गर्दा र थप चार जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो पनि पढ्नुस् :
'मुगुको बस दुर्घटनामा ३२ जनाको मृत्यु भइसक्यो' : डिआईजी ऐर
मुगुको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो, १२ जनाको नेपालगन्जमा उपचार गरिदै