नेपालगन्ज : बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार(आज) बर्दिया आउँदैछन् । प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुरपश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो । सुदुरपश्चिमका विभिन्न जिल्लाको निरीक्षण गरेका देउवा बिहीबार बेलुका धनगढीमा आएर बसेका थिए । उनी शुक्रबार बिहान कैलालीको केही स्थानको निरीक्षण गरेर बर्दिया आउन लागेका हुन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार प्रधानमन्त्री देउवासहितको टोली शुक्रबार बिहान ११ बजेर ३० मिनेटमा बर्दिया आउने कार्यक्रम रहेको छ । ‘प्रधानमन्त्री ज्युसहितको टिम बिहान ११ बजेर ३० मिनेटमा राजापुरमा ल्याण्ड हुने कार्यक्रम छ,’ प्रजिअ सुनारले दूरसञ्चार डटकमसँग टेलिफोनमा भने ‘राजापुरमा उहाँहरु करिव आधा घण्टाजति रहनु हुनेछ ।’
अविरल वर्षापछि कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका लगायत क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले बाढी पीडितलाई पनि भेटघाट गर्न सक्ने उनले बताए । प्रधानमन्त्री आउने भएपछि बर्दियाको राजापुरमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधी, सञ्चारकर्मी लगायतको जमघट हुन थालेको छ ।
प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर लगायत सहभागी छन् ।
सम्बन्धित समाचार :
बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गरेर प्रधानमन्त्री देउवा धनगढीमा
बाढी पहिरो पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँछौं : प्रधानमन्त्री
बाढी र पहिरोको क्षति निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदुरपश्चिम जादै
भारतले गिर्जापुरी बाँधको ढोका थुनेका कारण बर्दियामा बाढी
बर्दियामा बाढीको वितण्डा, एक हजार भन्दा बढी घर डुबानमा- (भिडियो सहित)