नेपालगन्ज : आन्दोलनरत नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले आइतबार नाराबाजी गरेका छन् । तलव, भत्ता लगायत सेवा सुविधा सम्बन्धी माग राख्दै कर्मचारीहरु केहीदिन यता आन्दोलित छन् ।
उनीहरु आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले तलब, भत्ता बढाउनुपर्ने माग गरिरहेका बेला कलेज ब्यवस्थापनले भने उनीहरुको माग पुरा गर्न नसकिने प्रष्ट्याइसकेको छ । आन्दोलनरत कर्मचारीले बिहान मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज क्षेत्रमा नाराबाजी गरेका हुन् ।
विभिन्न प्लेकार्ड बोकेका उनीहरुले हाम्रो माग पुरा गर, श्रम शोषण गर्न पाइदैन जस्ता नारा लगाएका थिए । नाराबाजीसहित उनीहरुले सुर्खेतरोड परिक्रमा गरेर पुनः अस्पताल परिसरमा पुगेका थिए । पटक पटक आन्दोलन गर्दै आएका कर्मचारीले यसपटक पुनः विभिन्न ७ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेका थिए ।
मेडिकल कलेजमा रहेका तीन वटै कर्मचारी संगठनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघ, कर्मचारी संगठन र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले संयुक्त रुपमा आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
आन्दोलनरत कर्मचारी मुस्लिम खाँनले आफ्नो हक, अधिकारका लागि बिहान प्लेकार्ड बोकेर अस्पताल परिसर र बाहिर नाराबाजी गरेको बताए । ‘हाम्रो नाराबाजी दिनभर नै चल्छ, अघि बिहान चाही सडक बाहिर पनि निस्केर नाराबाजी गरेका थियौं,’ उनले भने ।
यो पनि पढ्नुस्
मेडिकल कलेजका कर्मचारीको माग अहिले पुरा गर्न नसकिने ब्यवस्थापनको स्पष्टोक्ती
निर्णायक आन्दोलनको तयारीमा मेडिकल कलेजका कर्मचारी